पहिरोमा परेर १४जनाको मृत्यु !

२०७९ आश्विन १ गते, शनिबार


काठमाडौँ । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । अछामको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन । पहिरोमा पुरिएर ९ जना अझै बेपत्ता भएकाे उहाँले बताउनुभयाे । साथै ११ जना घाइतेको उद्धार गरिएको उनले बताए ।
अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले अछाम पहिरोबाट प्रभावितहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई पहिरो प्रभावितहरुको तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । उनले घाइतेको हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । गृहमन्त्रीले पहिरो प्रभावितको अवस्थाबारे बुझ्न अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर जानकारी लिएका थिए । सोलगत्तै उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु