आज विजया दशमी: उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौँ । आज विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदुर्गाको पूजा आराधना गरी आज माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । विजयादशमीको उत्तम साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी बिसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीमा दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका र प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिन मात्र टीका थाप्ने गरिन्छ ।
आज बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि आजै परेको छ । असोज २२ गते सबै बलिपूर्ति गर्नुपर्नेछ । असोज २३ गते कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैं पर्व समापन हुन्छ ।