वाग्मती किनारका अनधिकृत संरचना भत्काउन सुरु

२०७९ आश्विन २८ गते, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो ।
यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौँ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।
त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु