१३८ औं फाल्गुनन्द जयन्ती मनाइदै

काठमाडौं । किराँत धर्मावलम्बीहरुले आज महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती मनाउँदै छन् । किराती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा, सुनसरीमा फाल्गुनन्द जयन्ती धुमधामले मनाउने गरिन्छ । राजधानीमा बस्दै आएका किराँत समुदायले पनि यो दिवस मनाउने गर्दछन् । वि.सं. १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । उनले किराँती भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका थिए ।
समाज सुधारका लागि फाल्गुनन्दले वि.सं. १९८८ साल बैशाख २४ गते लागू गरेको नीतिलाई किरात धर्मावलम्वीहरु सत्य धर्म मुचुल्का भन्ने गर्दछन् । किराती समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।