उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहाेरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहोर संकलनकाे काम रोकेको हो ।
उपत्यकाका १८ वटै स्थानीय तहको फोहाेर व्यवस्थापनको काम रोकिने भएकाे छ । सडक मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहाेरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।
उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । निजी कम्पनीहरू र महानगरपालिका गरी दैनिक करिब २ सय गाडीले फोहाेर लैजाने गरेका थिए ।