भारतीय कार दुर्घटना: ४जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्गमा एक भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे सिन्धुली कमलामाई नगरपालिकास्थित गढी गेट नजिक दुर्घटनामा परेको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए।
दुर्घटनामा परेका ३ जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन् । दुर्घटनामा परेको कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीको भनाइ छ । अहिले मृतकहरुको शव निकाल्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ । मृतकहरुको पहिचान खुल्न नसकेको प्रवक्ता दाहालले बताए ।
यता, बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ को मृत्यु भएको छ । मंगलबार राति करिब ११ बजेर २५ मिनेट जाँदा जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा से १ ज ७६४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । उनीहरू सबै एकै गाउँका रहेको पनि प्रहरीको भनाई छ । त्यस्तै जीपमा सवार अन्य ६ जनाले हामफालेर ज्यान बचाएका छन् । जसमा चालक भने फरार रहेको प्रहरीको भनाइ छ । उक्त जीप बझाङको बाग्थलातर्फ जाँदै गर्दा अन्यन्त्रित भइ दुर्घटनामा परेको बताइएको छ ।