अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पवन राणालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी ठगि गरेका थिए ।
पीडितबाट करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।