नेपाल-भारत सीमा क्षेत्रमा सिसी क्यामेरा जडान !

२०८० बैशाख २० गते, बुधबार

काठमाडौं । बैतडीस्थित दशरथचन्द नगरपालिकाले नेपाल–भारत सीमानाका झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरेको छ । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगपालिकाको रहेको छ ।
सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए । आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामेरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ । उनले भने- ‘प्रहरीले निगरानी गर्ने गरी जडित सिसी क्यामेराले चोरीलगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु