घर जग्गा लोन सेवाको नाममा ठग्ने पक्राउ
२०८० जेष्ठ २६ गते, शुक्रबार
काठमाडौँ । प्रहरीले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्दै ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ११ घर भई काठमाडौंको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने रामचन्द्र चालिसे रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार रामचन्द्र चालिसेले उत्तमकुमार, राजकुमार तामाङ, सोनुबाबु लामा र विष्णु क्षेत्री तथा गणेशबहादुर खड्का लगायतका व्यक्तिलाई ऋण दिन्छु भनेर उनीहरुसँग ५७ लाख २० हजार लिएका थिए । उनले अर्काएको नागरिकता दुरुपयोग गरेर विभिन्न बैंकमा खाता खोली ती खाताको चेक दिइ उनीहरुलाई ठगेको पाइएको प्रहरीको दाबी छ ।