हास्य कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ सहित ८ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले हास्य कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ सहित ८ जना पक्राउ गरेको छ । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाजी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । स्रोतका अनुसार अनलाइन सट्टेबाजी खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ एपमार्फत उनीहरुले रु ६४ करोडको अवैध कारोबार गरेको फेला परेको हो । यसबारे बुधबार नै प्रहरीले सार्वजनिक गरेको थियो र संलग्न व्यक्तिहरुलाई पक्राउ तयारी गरिएको थियो ।
आज वान एक्स बेटमार्फत विज्ञापन र सट्टेबाजी गर्ने गिरोहमा हास्यकलाकार ध्रुवेको पनि संलग्नता रहेकोले उनी पक्राउ परेका हुन् । उनीसहित अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा अन्य कलाकारहरु समेत रहेका छन् । तर प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेका ती कलाकारहरूमाथि सामाजिक सञ्जालमा आउने भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । बल्छी ध्रुवे लगायतका कलाकारले आफूले खेल्ने टेलिसिरियल र अन्य भिडिओहरुमा ‘वान एक्स बेट’को प्रचार गर्दै आएका थिए ।