नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

२०८० असार १५ गते, शुक्रबार


काठमाडौं । बिहीबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुलाउन नसकिएको हो । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सबहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा झरिरहेको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पानी रोकिदा पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ढुंगा खसिरहेकाले अवरुद्ध सडक खुलाउन नसकिएको हो । पहिरो पन्छाउने क्रममा बिहीबार प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका थिए ।मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन सुरु गरिएको छ । तर पहिरो कतिबेला पन्छाएर सकिन्छ भनेर एकिन नभएको प्रहरीको भनाइ छ ।
‘सिमसिम पानी परेकाले विस्तारै खसिरहेको छ, बरु ठूलो पानी आइदिए एकैपटक हुन्थ्यो, सफा गर्न पनि सजिलो हुन्थ्यो, पहिरो खस्दाखस्दै कसरी सफा गर्ने निकै समस्या भयो,’ पण्डितले भने, ‘दुवैतर्फबाट सफा गर्न भनेर डोजर राखिएको छ, अहिले पहिरो खस्न केही कम भएकाले पन्छाउन थालेका छौं । तर पहिरो कतिबेला पन्छाउन सकिन्छ भनेर एकिन गर्न सक्ने अवस्था छैन ।’
सडक पहिराले अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको प्रहरी प्रवक्ता पण्डितले बताए । मुग्लिन नै जाम हुने अवस्था आएको उनको भनाइ छ ।
पोखरातर्फको क्षेत्रमा जाने सवारी साधनलाई निर्वाध चल्न दिन अधिकतम प्रयास गरिएको प्रहरीको भनाइ छ । मुग्लिन–नारायणगढ भएर चल्ने सवारी साधनलाई भने वैकल्पिक सडक भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार