सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले भत्कियो !

२०८० श्रावण १२ गते, शुक्रबार


काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले भत्किएको छ । केही दिन अघिदेखि परेको वर्षाले माथिबाट पहिरो खस्दा सुरुङ मार्गको दुवैतर्फ निर्माण सकिएको ढोका पूरै भत्किएको हो । सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु-याएको निर्माण पक्षले जनाएको छ । ढोकाको ५० मिटर माथिबाट ठुलो चट्टानसहित पहिरो खसेर क्षति पु-याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिए । यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो ।
सुरुङ तल्लो भाग सिद्धबाबा मन्दिरनजिकै बनेको सुरुङ मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ । बर्सातको समयमा पनि चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङ मार्गको काम गरिरहेको थियो । बर्सातको समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोका रूपमा खसेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिए । क्षतिग्रस्त सुरुङ मार्गको ढोका पुनर्निर्माण गरेर अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जैसवालले बताए । पहिरो जान सक्ने क्षेत्र भएकाले यो समयमा काम नगर्न भने पनि व्यवसायीले कामलाई निरन्तरता दिँदा समस्या भएको उनले बताए । सुरुङ मार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाइ हुने आशङ्का गरिएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो । सुरुङमार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ । सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार