वर्षाका कारण काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा डुबान

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा डुबान भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौं उपत्यकासहित बर्दिया, बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भारी वर्षा भएको छ । वर्षासँगै काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।
काठमाडौँका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ । विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ । सामाखुसी क्षेत्र डुबानमा परेको छ । घर, विद्यालय लगायतका संरचना जलमग्न भएका छन् । धोवीखोला, मनोहरा लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । कैलालीको पूर्व क्षेत्रमा पर्ने भजनी र कैलारी गाउँपालिका बढी प्रभावित भएको कैलाली प्रहरीले जनाएको छ । भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ६ का बस्तीहरुमा कान्द्रा नदीको पानी पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन । त्यस्तै बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।
त्यसैगरी कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।
उता मकवानपुर लगायत विभिन्न जिल्लामा पहिरोले घर पुरेको छ भने राजमार्गहरु अवरुद्ध भएका छन् । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रेनीमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । हेटौँडालाई काठमाडौँ जोड्ने दुई छोटा राजमार्ग कान्तिलोकपथ र मदन भण्डारीमार्ग पहिरोकै अवरुद्ध भएका छन् ।