चट्याङबाट १ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौँ । दैलेखमा चट्याङबाट १९ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर महाबु गाउँपालिका–१ की ४२ वर्षीया भुमिसरा खत्रीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । महाबु गाउँपालिका–१ ओखलढुङ्गास्थित मानबहादुर सेनको घरमा चट्याङ पर्दा उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् । चट्याङबाट गोठमा बाँधेका केही बाख्रा समेत मरेको प्रहरीले जनाएको छ । यस्तै महाबु गाउँपालिका–१ खरिगैराका ५६ वर्षीय दलबहादुर गुरुङ, ४७ वर्षीय जयबहादुर गुरुङ, आठ वर्षीया सम्झना गुरुङ, १७ वर्षीया रोशनी गुरुङ, १७ वर्षीय खरजंग गुरुङ पनि चट्याङ लागेर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । यस्तै, चट्याङ लागेर घाइते भएका सोही गाउँका शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिशिर सेन, करिष्मा सेन, कबिराज थापा र शेरबहादुर सेनको स्थानीय अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी महाबु गाउँपालिका–१ ओखलढुङ्गाका घाइतेहरु पदमाकुमारी सेन र मनसरा जैशीको दैलेख अस्पतालमा र मिनबहादुर थापाको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ । यस्तै दैलेखकै नारायण नगरपालिका–४ तामेखोलाका दिलबहादुर खड्काको गोठमा चट्याङ पर्दा एउटा गोरु मरेको र अर्को गोरु घाइते भएको जनाइएको छ ।
सोही स्थानमा चट्याङ लागेर पार्वती कठायत र नन्दा कठायत घाइते भएका छन् । पार्वती र नन्दालाई उपचारका लागि सुर्खेत रिफर गरिएको छ । यस्तै, दैलेखकै डुगेश्वर गाउँपालिका–६ को लयाटीमा परेको चट्याङबाट २६ वर्षीया रेखा बुढा घाइते भएकी छन् । उनलाई पनि उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।