नारायणघाट-काठमाडौं सडकमा ठूला गाडी चलाउन रोक

काठमाडौँ । यातायात व्यवस्था विभागले असोज २८ देखि कात्तिक ८ गतेसम्म नारायणघाट-काठमाडौं सडकमा ठूला सवारीसाधन चलाउन रोक लगाएको छ । विभागले दशैंको बेला सो रुटमा बढ्ने सवारी चापलाई मध्येनजर गर्दै यस्तो ठूला सवारी चलाउन रोक लगाएको हो ।
विभागका अनुसार असोज २८ देखि कात्तिक ८ गतेसम्म उक्त सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने नरोकिने विभागले जनाएको छ ।
यस्तै, विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ । असोज १९ गते बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । विभागका अनुसार दशैंको समयमा हुने यात्रुको चापलाई मध्येनजर गर्दै देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन पाइने छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।