विपी राजमार्गमा गुड्ने सवारीलाई टाइम कार्ड

काठमाडौँ । विपी राजमार्गमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले गुड्ने सबै सवारी साधनहरुलाई टाइमकार्ड लागु गरिएको छ । केही समय यता विपी राजमार्गमा दुर्घट्ना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउन थालिएको हो । विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको छ ।
पछिल्लो समय लागु गरिएको टाइम कार्ड अनुसार सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किलोमिटर सडकमा ठुला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेट र साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको छ । उता खुर्कोट नेपालथोक ३३ किलोमिटर सडकखण्डमा साना सवारीलाई ५५ मिनेट र ठुला सवारीलाई एक घण्टा १५ मिनेटको समय राखिएको छ । विपी राजमार्गमा साना मोटसाइकल र नीजि सवारीलाई सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीदेखि खुर्कोटसम्म एक घण्टा र खुर्कोट नेपालथोकलाई ४५ मिनेट समय निर्धारण गरिएका छ ।
विपी राजमार्गमा दुर्घटना न्युनिकरण गर्न टाइमकार्डको व्यवस्था गरिए पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई छुट दिने र मोटरसाइकललाई समेत टाइम कार्ड लगाउने कार्यको विरोध भइहेकोे छ ।