काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता

काठमाडौँ । सरकारले एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले बिहीबार आयोजना गर्ने प्रदर्शनमा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ । सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ । जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी रहेका छन् ।
संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । दुवै क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।
सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्। सुरक्षा निकायसँग प्राप्त गुप्तचरी सूचनाअनुसार प्रसाईंको कार्यक्रममा विभिन्न अभीष्ट बोकेका छुट्टाछुट्टै स्वार्थ समूहको घुसपैठ पाइएको छ। जसले गर्दा बिहीबार (आज)काे कार्यक्रम सुरक्षाका दृष्टिकोणबाट निकै संवेदनशील हुने सुरक्षा निकायहरूको विश्लेषण छ।
यस्तै बिहीबार बिहानैदेखि संवेदनशील संरचनामा अझै सुरक्षा बढाउने सुरक्षा संयन्त्रको तयारी छ। उपत्यकाको सुरक्षामा नेपाल प्रहरीलाई अग्रमोर्चामा राखेर दोस्रोमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागले आफ्नो दायित्वअनुसार काम गर्नेछ ।
सुरक्षा निकायहरूले युवा संघको कार्यक्रममा १० हजार र प्रसाईंको कार्यक्रममा आठ हजार जति मानिस भेला हुनसक्ने अनुमान गरेका छन्।
युवा संघले व्यवस्थाविरोधी गतिविधि र सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम आह्वान गरेको छ भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक बचाउ महाअभियानबाट ‘बृहत् मुक्ति आन्दोलन’ नामक प्रदर्शन कार्यक्रम आह्वान गरेका छन्। प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुलिरहेको भन्दै ऋण मिनाहाको माग गरिरहेका छन्।