बल्खु र तीनकुनेमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद

काठमाडौँ । प्रहरीले बल्खु र तीनकुनेमा जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले प्रदर्शन गरिरहेको बल्खुमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ ।
त्यस्तै तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ । केही समय पहिले प्रसाईँ र युवा संघबीच ढुंगामुढा भएको थियो । बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी दुवै पक्षको प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको थियो। प्रसाईं पक्षका समर्थकलाई प्रदर्शनका लागि बल्खु चोकमा स्थान तोकिएको छ भने युवा संघका लागि तीनकुनेमा तोकिएको छ।