आज गुरु नानक जन्मजयन्ती

२०८० मंसिर ११ गते, सोमबार


काठमाडौँ । आज सिख सम्प्रदायका प्रवर्तक गुरु नानक जन्मजयन्ती । गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । नेपालमा पनि आज विविध कार्यक्रमको आयोजना गरी गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई निशुल्क भोजन गराइने भएको छ ।
यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले भेदभाव नगरी निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’ को थालनी गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु