स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ । सिद्धार्थ बोर्डिङ स्कुल रुपन्देहीको स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् । वर्ष २१ कै अप्सरा खातुन घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।
स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त हताहत भएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन् । आगलागीबाट बस पूर्ण रुपमा क्षती भएको छ । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयको प्रदर्शनले उक्त सडकखण्डको आवतजावत ठप्प बनेको छ ।
यता, बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा आज ९शनिबार० बिहान गाडी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको योदा गाडीले आज बिहान ६ः१० बजेतिर पात्लेखेतस्थित बीपी राजमार्गमा स्थानीय वर्ष ५० कायमुनाप्रसाद धिताललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार बिहान ६ः५५ बजे धिताललाई मृत घोषणा गरिएको हो । ठक्कर दिन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।