आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व

काठमाडौं । आज मंसिर पूर्णिमा धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्व मनाइँदै छ। धान्य पूर्णिमाको रुपमा आज धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ । नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ ।
यसैगरी , आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ ।

यसैगरी, आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । ज्यापु संस्कृतिको रक्षाका लागि प्रत्येक वर्ष योमरी पुन्हीको दिन ज्यापु दिवस मनाउने गरिन्छ ।
यसैगरी, आज किरात समुदायको मुख्य चाड उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन्।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।
किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।