भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री प्रचण्ड सरिक हुने प्राधिकरणले जनाएको छ। संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो। प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउनेभन्नेबारे प्रदर्शनी गरिनेछ।
आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ। दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्मसरकारी निकाय, संघसंस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिए। गृहमन्त्रीको अध्यक्षतामा दिवसको मूल समारोह समिति गठन गरिएको छ। उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २ः२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो। असी हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो।
यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो। वरिष्ठ भूकम्पविद अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे। ‘पछिल्लो जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउँछ,’ उनले भने।
२६औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरु सहित भूकम्प सुरक्षा दिवस मनाउन सबै प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत्, जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयमार्फत् र जिल्ला समन्वय समिति एवं स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्ने निर्णय गरेको थियो। बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम चन्द्रगिरी नगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उप–समिति, सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उप–समिति गठन गरेको छ। उक्त मार्गदर्शनअनुसार दुबै उप–समितिमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले सदस्य–सचिवको रूपमा कार्य गर्ने जनाइएको छ। भूकम्प सुरक्षा दिवसको नारासहितको पोष्टर लगायतका सामग्री मुलुकभरका विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् उपलब्ध गराई भूकम्प सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्राधिकरणले जानकारी दिएको छ। साथै सो दिन सम्भव भएसम्म प्रत्येक स्थानीय तहका विद्यालयसँग भूकम्प सुरक्षा विषयमा कक्षा सञ्चालनका साथै कृत्रिम घटना अभ्यास गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि भएको छ। बैठकले उपत्यकाभित्र र बाहिरका कम्तिमा एक÷एक उद्योगमा भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित संरचना निर्माण सम्बन्धी सचेतना कार्यक्रमका साथै पूर्वाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सामुदायिक संस्थाहरु, सञ्चार माध्यम, निजी क्षेत्र लगायत आह्वान गरेको छ ।
यसका साथै बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ लाई हालको संघीय प्रणाली अनुरूप हुने गरी परिमार्जन गरी कार्यविधिको मस्यौदाको रूपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ।
नेपालमा गएका केही भूकम्प :
विसं १३१० मा गएको भूकम्पले थुप्रै देवालय र घर भत्किए, भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गयो ।
विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो ।
विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए ।
विसं १७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए ।
विसं १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो ।
विसं १८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा पाताल बन्यो । पाटन बालकुमारीको मन्दिरबाट २१ दिनपछि मूर्ति झिकिएको थियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ ।
विसं १९९०को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा आठ हजार ५३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७१३ जना घाइते भएका थिए । त्यसबेला उपत्यकामा १२ हजार ३९६ घर, पहाडमा ६४ हजार ७४२ घर र तराईमा तीन हजार ७५४ घर पूर्ण क्षति भएका थिए । त्यस्तै उपत्यकामा २५ हजार ६५८ घर, पहाडमा ७३ हजार २५३ घर र तराईमा पाँच हजार ६१० घर आंशिक क्षति भएका थिए ।
विसं २०३७ साउन १४ गते आएको भूकम्प ६.५ रेक्टर स्केलको थियो । बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति तुल्याएको थियो ।
विसं २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो । यो भूकम्पमा परी ७२१ जनाको मृत्यु भएको थियो भने छ हजार २१३ जना घाइते भएका थिए । त्यसबेला १४ हजार ९६४ घर पूर्ण क्षति, ३३ हजार ९५९ घर चिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४९६ घर आंशिक क्षति भएका थिए ।
विसं २०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठुलै क्षति गरेको थियो । त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भए ।
विसं २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण आठ हजार ९७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३०२ जना घाइते भएका थिए । सोही वर्षको वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.९ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा आठ लाख ६६ हजार २०७ निजी घर पूर्ण क्षति भएका र ४७ हजार ८२७ घर आंशिक क्षति भएका थिए ।
विसं २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो । १३५ घर क्षतिग्रस्त भएका थिए ।
विसं २०६५ मङ्सिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७९ साल साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, सोही वर्षको कात्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।