नेपाल एयरलाइन्सको वाइड बडी जहाज ‘ग्राउन्डेड’ : यात्रु अलपत्र

२०८० माघ २ गते, मंगलवार

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राउण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो ।
ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने प्रवक्ता पौडेलले जानकारी दिए । “हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरुलाई आज साँझ ७ः४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ”, उनले भने ।
निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौँबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]