काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस

काठमाडौँ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने -‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड ह। ’
गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ मौसमविद झाले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए ।
बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन ।
मौसमविद झाले भने -‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौ। ’