२०८१ सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २०८१ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। २०८१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइएको सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको हो। गृहमन्त्रालयले वर्षभरि ५३ वटा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। जसमा २७ दिन पर्व बिदा,६ वटा दिवस र २ वटा जन्मजयन्ती बिदा रहेका छन्।
आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ। जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ। भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन पनि बिदा दिइएको छ। असोज ३ गते संविधान दिवस, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ।
कात्तिक महिनामा १५ गतेदेखि १९ गतेसम्म तिहारमा पाँच दिन बिदा दिइएको छ भने २२ गते छठपर्वमा पनि बिदा छ। मङ्सिर ३० गते उधौली पर्व, योमरी पुन्हिको अवसरमा बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिइएको छ।
माघी पर्वको अवसरमा माघ १ गते, सोनाम ल्होसारको अवसरमा माघ १७ गते बिदा हुनेछ। फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते शेर्पाको ग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) र बकर ईद (इद उल उजाह) का दिन पनि दुई दिन सार्वजनिक बिदा हुने राजपत्रमा उल्लेख छ। यस्तै, फागुपूर्णिमामा हिमाली र पहाडी ५६ जिल्लामा फागुन २९ गते र तराईका जिल्लामा चैत्त १ गते बिदा दिइएको छ।