विष्णुमती करिडोरका अवैध संरचना हटाउन सुरु
काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना डोजर लगाएर हटाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए। टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो ।
उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए। उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए ।
नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमणि करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको बताए ।
संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुङ्गामुढासमेत गरेका थिए । नगरपालिकाले केही दिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।