आज मगर एकता दिवस

काठमाडौँ । आज मगर एकता दिवस । मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । प्रत्येक वर्षको फागुन १५ गते मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना तथा नेपाल मगर संघ स्थापनाका अवसरमा यो दिवस मनाउने गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी, प्रदर्शनलगायतका कार्यक्रमहरु भइरहेका छन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए ।
मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसँगै विदेशमा रहेका मगरसँग आवद्ध संघसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।
विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने उपाध्यक्ष फालमगरले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो ।