वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौँ । वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्। यस्तै नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक वनमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा ४९ वर्षीय लालकुमार सेन ठकुरीपक्राउ परेका हुन्।
पक्राउ परेका पाँचमध्ये आइतीमायालाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा क्षति भएको छ। रोशी गाउँपालिका-४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो। – रासस