योग तथा साधनालाई बजेटमा समेटिने
काठमाडौँ । सरकारले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने तयारी गरेको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै सो जानकारी दिएका हुन् । उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए । उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताउदै योग तथा ध्यान रुढीवादी नभइ वैज्ञानिक विधि रहेको जिकिर गरे ।
परराष्ट्रमन्त्री श्रेष्ठले योग तथा ध्यानलाई आत्मसाथ गर्नसके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने र नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताए । उनले भगवान शिव, बुद्ध, व्यास, पतञ्जली, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गरेको भन्दै ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताए ।