केटी जिस्काएको निहुँमा प्रहरी जवानको हत्या
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको अवस्थामा शुक्रबार हरियोचौरको निर्माणधीन दुइतले घरमा शव भेटिएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका- १ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया बिपना, बसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की छन्।
त्यस्तै नुवाकोटको तानी गाउँपालिका-४ ओखरे घर भएकी २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक छन्।
उनीहरू सबैजना बालाजु, जरंखु, मनमैजु लगायतका स्थानहरूका निर्माणाधीन घरहरूलाई आश्रय बनाएर बस्ने गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ।
उनीहरूलाई भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।
प्रहरी जवान घिमिरे दरबारमार्ग बृत्तमा कार्यरत थिए। गत बिहीबार राति साढे ८ बजे उनी ड्यूटीबाट प्रहरीकै लुगामा फर्किएका थिए। तर उनी ९ बजेतिर काठमाडौँको तारकेश्वर नगरपालिका ९ मनमैजुको एउटा खाजा घरमा पुगे। त्यहाँ घिमिरेले पहिलेदेखि नै चिनेका सचिन परियार र अन्जली श्रेष्ठ खाना खान गएका थिए। उनीहरू छ्याङ खाइरहेका थिए। युवराज पुगेपछि उनलाई पनि छ्याङ खान भने।
होटलवाला सचिनका चिनजानकै हुन्। युवराज बसपार्क क्षेत्रमा कार्यरत रहँदा सचिनसँग चिनजान भएको थियो। सचिन भारी बोक्ने काम गर्थे। पहिल्यैदेखि चिनजानका सचिनसँग बसेर युवराजले छ्याङ र चुरोट खाए। प्रहरीका अनुसार सचिन र अञ्जली लिभिङ टुगेदरमा थिए।
प्रारम्भिक अनुसन्धानबाट प्रहरी जवान घिमिरे बिहीबार आफ्नो ड्युटी सकेर एक होटलमा खाजा खान गएका थिए। सोही होटलमा सचिन र अञ्जली पनि थिए। सोधपुछका क्रममा सचिनले बिहीबार प्रहरी जवान घिमिरे खाजा खान गएको होटलमा आफू पनि अञ्जलीसँगै रहेको बताएका छन्। त्यहाँ घिमिरेले अञ्जलीलाई जिस्काएपछि आफूलाई रिस उठेको उनले प्रहरीलाई बताएका छन्।
त्यसपछि उनले आफू र अञ्जलीलाई हरियोचौरसम्म पुर्याइदिन आग्रह गरेका थिए। त्यसपछि सचिनले युवराजलाई कोठा पुर्याईदिन भने। तर युवराज मानेनन्। पछि युवराज मातेको तालमा मोटरसाइकलमा हिँड्न खोजे। युवराज जान खोजेपछि सचिनले अन्जलीलाई पनि बस्न भने र आफू पनि सोही मोटरसाइकलमा बसेर तीन जना बाटो लागे।
मनमैजुको बासुकी नाग टोलस्थित जोनस भन्ने दामोदर खत्रीको २ तले निर्माणाधीन घर नजिकै पुगेपछि सचिनले सुरूमा हेल्मेटले युवराजलाई प्रहार गरे। हेल्मेटले हानेपछि युवराज पानी माग्न थाले। तर नजिकै रहेका अरू साथीलाई पनि सचिनले बोलाए।
अनि ७ जना भएर पालैपालो ढुंगा र इट्टाले प्रहार गरेर युवराजको हत्या गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी वशन्त रजौरेले बताए। हत्यापछि युवराजका सबै कपडा खोलेर नजिकै आगो बालेर जलाइदिए। युवराजको शव पनि अर्को ठाउँमा लगेर छोपिदिए। त्यसपछि सातै जना त्यहाँबाट राति नै बाटो लागे।