पिच गर्न तयार गरिएको सडक वर्षाले बगायो !

काठमाडौँ । उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको जानकारी दिएका छन। उनले यो सडक खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । उनले वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब १ करोड रुपैयाँको क्षति भएको जानकारी दिए ।
यता, सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।