जंगली च्याउ खाँदा बाबुको मृत्यु, अन्य ४ जनाको अवस्था गम्भीर
काठमाडौँ । जंगली च्याउको तरकारी पकाएर खाँदा घर मुलीको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर बिरामी परेका छन्। मकवानपुर राक्सिराङ गाउँपालिका ७ दगुबाङका बलबहादुर चेपाङको जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। च्याउको तरकारी खाएका घरमुली ४५ वर्षीय दलबहादुर चेपाङको आइतबार दिउँसो मृत्यु भएको राक्सिराङ-७ का वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए।
गम्भीर अवस्थाका दलबहादुरलाई उपचारका लागि चितवनको भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सँगै खाना खाएकी दलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ। उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारमा ढिलाई गर्दा बलबहादुरको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।