अविरल वर्षाका कारण जनजीवन प्रभावित

२०८१ असार २३ गते, आईतवार


काठमाडौँ । अविरल वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ। देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने कतै डुबान, कतै बाढी त कतै पहिरोले प्रभावित पारेको छ । तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको छ भने उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती जारी छ ।
अविरल वर्षाका कारण ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् ।
यसैगरी, भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पसेको छ । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा छन् ।
यता, दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।
यसैगरी, राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् ।
यता , म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । म्याग्दे खोलामा आएको बाढीले घरहरु डुबानमा परेका हुन् ।
यसैगरी, तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतह पार गरेको छ । सतर्कता तह पार गरेकाले मस्र्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसैगरी नारायणी नदीमा पनि सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरिएको छ ।
बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ । काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।
यसैगरी ललितपुरको गोदावरी नगरपालिका–१३ ठेचोमा नख्खुखोलाको बाढीले टिपर बगाएको छ भने बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ ।
मनसुनजन्य विपद्मा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता हुनुका साथै अन्य २५ जना घाइते भएका छन् । पहिरोबाट २४ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
त्यस्तै बाढीबाट चार जनाको मृत्युभएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएको सरकारी तथ्यांक छ । भारी वर्षाका कारण चार जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]