मध्यपहाडी, बिपी र मदन भण्डारी सडक अवरुद्ध
२०८१ असार २८ गते, शुक्रबार
काठमाडौँ । मदन भण्डारी, पुष्पलाल मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुर गढीको हाकपारमा पहिरो गएर सडक अवरद्ध भएको छ भने मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ अक्करे भीरमा ढुंगा सहितको पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । सिन्धुलीको बिपी राजमार्गमा समेत विभिन्न ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मदन भण्डारी, पुष्पलाल मध्यपहाडी लोकमार्ग र बिपी राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटामै अलपत्र परेका छन् । केही दिन यता लगातार वर्षा भइरहेकाले सडकको जुनसुकै खण्डमा पहिरो खसेर दुर्घटना हुनसक्ने देखिएको छ ।