गोरखा–आरुघाट सडक अवरुद्ध
काठमाडौँ । गोरखा–आरुघाट सडक अवरुद्ध भएको छ। गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो । भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
वडाध्यक्ष श्रेष्ठले भने- ‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्,। सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।’