मधुश्रावणी व्रत शुरु

२०८१ श्रावण ११ गते, शुक्रबार

काठमाडौँ । आज श्रावण कृष्ण पञ्चमी , आजदेखि मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व शुरु भएको छ। श्रावण कृष्ण पञ्चमीदेखि १३ दिनसम्म गरिने यो व्रतका क्रममा नवविवाहिता महिलाले भगवान् शिव, पार्वती र नाग देवताको आराधना गर्छन्।
पूजाअर्चनाका लागि व्रतको एक दिनअघिको सन्ध्याकालमा सामूहिक रूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भनिन्छ। यो पर्वमा भगवान् शंकर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ।
व्रत आत्मशुद्धि र व्रत संकल्पबाट शुरु हुन्छ। एक दिनअघि नै हातगोडाका नङ काटी, नुहाइधुवाइ गरेर शुद्ध हुन्छन्। पर्वभर चोखो भोजन गर्छन्। घरकी जेष्ठ महिला सदस्यले व्रतालुलाई पर्वका विधि सिकाउने गर्छन्। सामान्यतया माइतीघरमा यो पर्व मनाउने प्रचलन छ। तर यो अवधिभरिको वस्त्र र खाद्यान्न पतिले नै पुर्‍याउने चलन छ।
शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि व्रतालुलाइै जेष्ठ महिलाले कथा सुनाउँछन्। पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मंगला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ।
सखीहरू एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन्। सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ। यो नै पर्वको मुख्य आकर्षण हो।
विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार