गौरा पर्व सुरु

२०८१ भाद्र ८ गते, शनिबार


काठमाडौँ । आज भाद्र शुक्ल पक्ष पञ्चमी सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।
पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने जानकार गोमती भट्टले बताए । “एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ” उनले भने, “बिरुडा भिजाँइदा माङ्गलकि सगुन फाँग गाउँछौ ।” बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।
फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए । उनले भने- “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नभन्दा गौराले जिद्दि गरेपछि गौराको आग्रह बमोजिम नगरमा कलौं बिरुडी खोज्न गएको प्रसङ्ग यस फागमा आउँछ। यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो ।”
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन धानसँगै उम्रिएको साउँ {धानजस्तै देखिने घाँस)बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको छ भने अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु