अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

२०८१ भाद्र ९ गते, आईतवार


काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

यता, रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ। ८ जना वेपत्ता भएका छन् ।
शनिबार रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर खसेको र पहिरोले तीनवटा घर बगाएको रामेछापका प्रहरी प्रमुख प्रदिपकुमार सिंहले जानकारी दिए ।
वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ४ वटा घर बगेको र केही घरहरूमा क्षति पुगेको उनले बताए । अहिलेसम्म दुईवटा शव निकालिएको छ। त्यसमा एक जना बालक रहेका छन् । त्यस्तै एक जना बालकले भने भागेर ज्यान जोगाएको र उनी पनि घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अविरल वर्षातले वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने पक्की पुल पनि बगाएको स्थानीयले बताएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु