प्रस्तावित राजदूतहरूको सुनुवाई भदौ १४ गतेबाट
काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने जनाएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।
भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोली समितिका सदस्यहरुलाई वितरणसमेत गरिएको जनाएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।