नेकपाका नेता शिलुद्वारा जनसरोकारका कार्यलाई सहज बनाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले जनसरोकारका कार्यलाई सहज बनाउन आग्रह गरेकी छिन । गण्डकी प्रदेशको सदरमुकाम समेत रहेको कास्कीको पोखरामा रहेका विभिन्न कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै उनले सो आग्रह गरेकी हुन् ।
भेटघाटको क्रममा नेता शिलुले प्रदेश न्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलसङ्ग भेटघाट गर्दै सरकारले बनाएका कतिपय नीतिगत त्रुटीका कारण आम नागरिकले दुःख पाएको बताइन् । उनले बेला बेलामा न्यायधिवक्ताको कार्यालयले जनतासँग सल्लाह सुझाव लिएर कानुनहरु संशोधनको लागी सुझाव राख्नुपर्ने समेत उनको जोड थियो । शिलुले जनतालाई न्यायलयप्रति विश्वास रहेपनि त्यसको कार्यविधिप्रति विभिन्न आशङ्का रहेको भन्दै जनतालाई न्यायलय, न्यायधिवक्ताको कार्यालय र समग्र कानुनप्रति जवाफदेही र उत्तरदायी बनाउनुपर्ने जोड रहेको थियो । यस्तै छलफलको क्रममा गण्डकी प्रदेशका न्यायधिवक्ता चिरन्जिवी शर्मा पौडेलले नेता शिलुले दिएको महत्वपूर्ण सुझावको लागी धन्यवाद दिएका थिए । उनले जनस्तरबाट पनि सरकारलाई एवम् कानुनी राज्यलाई सहयोगी भूमिकाको अपेक्षा गरिने र जनतालाई राज्यबाट सहज अनुभूति गराउन प्रयत्न गरिएको बताएका थिए ।
यस्तै गण्डकी प्रदेश सचिव रघुनाथ बिष्टसँग पनि शिलुले छलफल गरेकी छिन् । बिहीबार पोखरास्थित कार्यालयमा भेटघाट गर्दै प्रदेशका विकास निर्माणबारे चासो व्यक्त गरेकी थिइन् । सङ्घीयताले जनतालाई सहज सेवा र समान विकासको प्रत्याभुत गराउनुपर्नेमा त्यसको विपरित सङ्घीयता खारेज गर्नुपर्ने वा सङ्घीयता विरोधी आवाजहरु सुनिनु दुखद् भएको भन्दै नेता शिलुले स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुले जनतालाई सहज सेवा दिन र जनतामा सरकारको सन्चार गराउनुपर्ने बताइन् । सङ्घीयता लागू गर्ने मुख्य जिम्मेवारी कर्मचारीमै रहेको भन्दै उनले सङ्घीयता आन्दोलनको उपलब्धी भएको यसको रक्षा गर्दै थप जनमूखी बनाउन आवश्यक रहेको बताइन् । प्रदेशका प्रमुख सचिव रघुनाथ विष्टले विगतमा भन्दा कर्मचारीमा धेरै परिवर्तन आएकोले जनतामा सेवा सहज भएको बताए । उनले प्रदेशका गौरवका आयोजनाहरु पनि निर्माणको क्रममा रहेकोले प्रदेशले छिट्टै नयाँ विकासको अनुभूत गर्ने कुरा बताए ।
यस्तै बिहीबार नै पोखरास्थित कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीसङ्ग पनि नेता शिलुसहित नेकपाका नेताहरुले भेटघाट गरेका थिए । कृषि प्रधान देशमा किसानहरुले आफ्नो उत्पादनले बजार नपाउने बिषय उठाउदै कृषकले उत्पादनका साधन, बिउ र अनुदानहरु खास किसानले प्राप्त गर्नुपर्ने विषय उठाइएको थियो । नेकपाले देशव्यापी रुपमा उत्पादनमा गरेको उपलब्धीबारे जानकारी गराउदै प्रदेश र जिल्लाहरुले कृषिमा लगानी गर्दै पार्टीलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको नेकपाका केन्द्रीय सदस्य कपिल सीले जानकारी गराएका थिए ।
यस्तै जवाफमा रेग्मीले नेकपाले उत्पादनमा गरेको क्रान्ति प्रशंसायोग्य भएको बताएका थिए । कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुन कृषि सामग्री र अनुदान समेत उपलब्ध गराउने प्रतिबद्दता रेग्मीको थियो ।
भेटघाटमा नेकपाका गण्डकी प्रदेश इचार्ज शिलुसहित नेकपाका केन्द्रीय सदस्य कपिल सी, अखिल (समाजवादी) का सचिव प्रकाश सी लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले गोरखा जिल्लामा रहेको गोरखकाली रबर उद्योगको अवस्थाबारे अनुगमन गरेकी छिन् । गोरखा जिल्ला मजुवा देउरालीमा ५६६ रोपनी क्षेत्रफलमा फैलिएको उद्योग हाल पूर्ण रुपमा बन्द छ । बन्द भइसकेको उद्योगको संरचना र मेसिनहरु समेत काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । तत्कालिन संविधानसभा सदस्य समेत रहनुभएकी नेकपा नेता शिलुले उद्योगको अवस्था, संरचना र मेसिनहरुको अवस्थाबारे अनुगमन गरेकी हुन् ।
अनुगमनपछि नेता शिलुले नेपालमा ठूलो संख्यामा सवारीसाधान आयात बढिरहेको बेला देशमै कच्चा पदार्थसमेत भएको गोरखकाली टायर उद्योगको अवस्था रुग्ण हुनु निकै दुखद् रहेको बताइन् । उनले देशमा राजनीतिक परिवर्तन सकियो भन्दै आर्थिक परिवर्तन सुरु गरेका राजनीतिक दलहरुका विभिन्न सरकारहरुले संसदीय भासमा फसेर देशको भविष्य र यहाँको युवाहरुको बारेमा नसोच्नु नै विडम्बना भएको बताइन् । उनले हरेक बर्ष झण्डै आठ अर्बको टायर र टायरजन्य सामाग्रीहरु नेपालमा आयात हुने गरेको र गोरखकाली टायर उद्योग दलाल पूँजीवादकै कारण बन्द भएको बताइन् । भारत, चीन लगायतका अन्य मुलुकले विकासोन्मुख देशहरुलाई आत्मनिर्भर हुनबाट रोक्नलाई विभिन्न नीति बनाएर यस्ता ठूलो उद्योगहरु बन्द गराउने र सधैँ परनिर्भरतामा लैजान चाहन्छन्, तर यसबाट बचेर आफ्नो माटो सुहाउँदो नेपाली विशेषतामा उद्योगहरु सञ्चालन गर्ने र देशमा रोजगार सिर्जना गर्दै, आर्थिक घाटा कम गर्न राज्यले नीति निर्माण गर्ने र कडाईपूर्वक लागू गर्नुपर्ने उनको भनाई थियो ।
२०४१ सालमा शिलान्यास भई २०५० सालबाट आफ्नो उत्पादन सुरु गरेको गोरखकाली टायर उद्योग लिमिटेडले वार्षिक ८० हजार ट्रक टायर र अन्य ४० हजार टायर उत्पादन गर्न सक्ने सामथ्र्य राख्दथ्यो । १२ प्रकारका जीप भ्यानहरुको लागी टायर यही उद्योगबाट उत्पादित हुने मेसिनहरु अहिलेपनि छ । २०६३–०६४ सालतिर राजनीतिक दलहरुले आफ्नो दलीय नियुक्तिका आधारमा महाप्रबन्धकहरु नियुक्त गर्ने र अव्यवस्थित कर्मचारीहरु भर्ति गर्ने गर्दा उद्योग बन्द हुनुपर्ने नियतीमा पुगेको हो । उद्योगलाई स्तरोन्नती गर्दै ट्युवलेस टायरहरुदेखि विकसित प्रविधिहरुसहित टायर निर्माण गर्नुपर्ने अवस्थालाई नजरअन्दाज गर्दै राजनीतिक स्वार्थ र उद्योग नीतिमा गम्भीर नबन्दा बलियो उद्योग धरासायी हुने अवस्थामा पुगेको हो ।
उद्योग सञ्चालन गर्न नेकपाको दबाब नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्लाले पटक–पटक गोरखकाली टायर उद्योग लिमिटेड सञ्चालनको लागी भन्दै स्थानीयतहदेखि केन्द्रसम्म पटक–पटक दबाबहरु सिर्जना गरिरहेको छ । केही समय अगाडि मात्र नेकपा गोरखाले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उद्योग सञ्चालनको लागी भन्दै ध्यानाकर्षण पत्र बुझाएको नेकपा गोर्खाका इन्चार्ज कपिल सीले बताए । यस्तै उद्योग परिसरमा पटक–पटक गरी आधा दर्जनभन्दा धेरै पटक उद्योगलाई अविलम्ब सञ्चालन गर्न भन्दै जनप्रदर्शन गरेको नेकपाले गोरखा जिल्लाका मुख्य क्षेत्रहरुमा गोरखकाली टायर सञ्चालनको लागी ध्यानाकर्षणस्वरुप ब्यानर र पर्चा पम्पलेटहरु समेत टाँस्ने लगायतका दबाबमुलक कामहरु निरन्तर गरेको नेकपा गोरखाका सेक्रेटरी काजी सीले जानकारी गराए । सेक्रेटरी काजीका अनुसार उद्योग सञ्चालनको लागी के गर्न सकिन्छ भन्ने सन्दर्भमा गोर्खा उद्योग वाणिज्य संघ, बुद्धिजीवि एवं उद्योगी व्यवसायीहरुसँग विभिन्न चरणमा अन्तरक्रिया, भेटघाट र छलफल गरेको र आगामी दिनमा पनि अझ दबाबमुलक कार्यक्रमहरु बढाउने योजना पार्टीले बनाएको बताए ।
गोरखकाली रबर उद्योग बन्द भएको आर्थिक वर्ष २०७१ र ७२ मा २३ करोड २० लाख ४३ हजार रुपैयाँको टायर आयात भयो । त्यसको तीनवर्ष पछि (आ.व.) २०७५ र ७६ मा आठ अर्ब छ करोड ६३ लाख ३१ हजार रुपैयाँको टायर आयात भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ भने पछिल्लो आर्थिक बर्ष ०७९–०८० मा मात्रै हेर्दा झण्डै ११ अर्ब बराबरको टायरजन्य सामाग्रहरु आयात भएको देखिन्छ । यसरी वर्षेनी अर्बाैको व्यापार घाटा बढिरहेको छ भने बेरोजगारीको अवस्थापनि विकराल बन्दै गैरहेको छ । विकसित प्रविधिलाई भित्र्याएर राज्यले बलियो नीति बनाउने हो भने उद्योग सञ्चालनको असम्भावना छैन, हरेक दिन २ हजारभन्दा बढी नागरिकले बेरोजगारीकै कारण देश छोडिरहेका छन्, यस्ता उद्योगहरु सञ्चालन गर्दा रोजगारीको दर पनि बढाउन सकिन्थ्यो यसप्रति राज्य गम्भीर हुन भने जरुरी छ ।– शिव डुम्रे