२ किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ परेको बताए ।
उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।
यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।