विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन निर्देशन

२०८१ मंसिर १६ गते, आईतवार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइनमुनि रहेका संरचनालाई हटाउन निर्देशन दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै सूचना जारी भएको मितिले ३५ दिनभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरले विद्युत् नियमन ऐन २०४९ र विद्युत नियमावली २०५० अनुसार विपद् जोखिम न्यूनीकरण र जनसुरक्षाका लागि यो कदम चालेको हो।
महानगरपालिकाको शहरी व्यवस्थापन विभागले जारी गरेको सूचनामा विद्युत् लाइनमुनि निर्माण गरिएका संरचना घरधनी स्वयंले हटाउन भनेको छ । महानगरपालिकाले निर्देशन पालना नगरे कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
महानगरभित्र घर,टहरा, पर्खाल आदि संरचना निर्माण गर्दा प्रचलित मापदण्ड अनुसार महानगरपालिकाबाट स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने प्रावधान रहेको छ।
महानगरपालिका कार्यालयबाट स्वीकृति लिए बमोजिम निर्माण कार्य गर्नु पर्नेमा कतिपय भवनहरू मापदण्ड विपरीत विद्युत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको छाड्नुपर्ने दूरी नछाडि घर, टहरा, विद्यालय, कलेज लगायत संरचना निर्माण भएको देखिएको महानगरले जनाएको छ । यस्ता संरचनाले विभिन्न समयमा दुर्घटना समेत भइरहेको हुदाँ मापदण्ड विपरीतका संरचना तथा भागहरू सावधानीपूर्वक घरधनी स्वयम्‌लाई नै सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र हटाउन भनिएको छ।

प्रतिक्रियाहरु

[anycomment]