सात गाउँले जात्रा मनाइँदै

काठमाडौँ । काठमाडौंको दक्षिण पश्चिम कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमामा आज सात गाउँले जात्रा मनाइँदैछ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ ।
काठमाडौंको पश्चिमी भेगका सातगाउँका शक्तिपीठ मध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वास अनुसार आज बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजा सहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गरिन्छ ।
आज नै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्दछ । सातगाउँले जात्राका अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभर मंगलबार विदा दिएको छ । चन्द्रागिरि नगरपालिकाले पनि जात्रा मनाउने वडामा बिदा दिएको छ ।