युवा सङ्गठन नेपालद्वारा गौशाला सञ्चालन : वार्षिक ५ लाख नाफा

काठमाडौँ । युवा सङ्गठन नेपालले कपिलवस्तु शिवगढीमा छाडा चौपायालाई सङ्कलन गरेर गौशाला सञ्चालनमा ल्याएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले संचालन गरेको गौशालामा १५० वटा गाई–गोरु रहेका छन् । कपिलवस्तुमा ३ हजार छाडा चौपाया भएको अनुमान गरिएको छ ।
युवा सङ्गठन नेपालले छाडा चौपायको कारण सडक दुर्घटना हुने, बालीनाली क्षति हुने समस्याले जनता पीडित भएकाले गौशाला संचालन गरेर यो समस्याको समाधान गर्ने अभियान सुरु गरेको हो ।
युवा सङ्गठन नेपालले २०० गाई पाल्न वार्षिक २५ लाख खर्च हुने गरेको जनाएको छ । मल, दूध, गोरु विक्री र नगरपालिकाको अनुदानसमेत गरेर गौशालाले वार्षिक ५ लाख नाफा कमाइरहेको युवा नेता गणेश सीले बताए । १० जना युवाले रोजगारी पाएको गौशालामा नजिकै ३ विघा जग्गा भाडामा लिएर खेती पनि गरिरहेको उनको भनाई छ ।