कपिलवस्तु अदालतका २ कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालतले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई दोषी ठहर गरेको छ । मिश्रलाई दुई महिना र कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको हो । उनीहरुले लिएको २० हजार रुपैंया बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई १०/१० हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको हो ।
मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए । त्यसक्रममा अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयलाई घुस सहित पक्राउ गरेको थियो ।