यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनलाई सहज रूपमा आवतजावत र दर्शन गर्ने वातावरण मिलाउन चुस्त ट्राफिक व्यवस्थापनदेखि सुरक्षा व्यवस्था समेत मिलाएको हो।
शिवरात्रीको दिन सहज रूपमा सवारी आवगमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा कमाण्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी खटाइने भएको छ । साथै, ट्राफिक चापलाई मध्यनजर गर्दै आवश्यकता अनुसार थप प्रहरी समेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
विगतमा झै यस वर्ष पनि पशुपति आउने भक्तजनको सुविधाका लागि निःशुल्क पार्किङ व्यवस्था गरिएको छ । भक्तजनहरूका सवारी तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।
त्यस्तै, वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरू, कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूलाई पार्किङ व्यवस्था मिलाएको छ ।
त्यसैगरी, गौशला क्षेत्रमा हुने सवारी चापलाई मध्येनजलर गर्दै विभिन्न सडकमा सवारी संचालन गर्न निषेध गरिएको छ । गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरिने ट्राफिक प्रहरीले जनाएको छ
तीनकुनेबाट सिनामङ्गलतर्फ,बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ ।