महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशी महावीर जयन्ती तथा अहिंसा दिवस । आज नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गर्छन् । २६ सय २३ वर्षअघि यसैदिन वैशाली क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा जन्मिएका थिए । राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना शुुरु गरेको बताइन्छ ।
१२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ ।