जिब्रो छेड्ने जात्रा मनाइँदै

काठमाडौँ । आज वैशाख २ गते मध्यपुरथिमि नगरपालिका बोडेमा मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइदैछ । यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताएका छन् ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि व्रत बस्नुपर्छ । नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए ।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।