पाँचखालका इँटाभट्टा बन्द गर

काठमाडौँ । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित सबै इँटाभट्टा बन्द गर्न परमादेश जारी गरेको छ । स्थानीय वातावरण र जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै दायर गरिएको रिट निवेदनमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङ्गा सुवेदीको इजलासले १२ चैत २०८१ मा मागबमोजिम आदेश दिएको हो ।
रिट निवेदन २०७६ पुस १४ गते स्थानीय बासिन्दा र अभियन्ता श्रीकृष्ण धिमालसहितले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय र पुरातत्व विभागलाई विपक्षी बनाई दर्ता गरेका थिए ।
रिटमा इँटाभट्टाले वातावरणमा प्रदूषण बढाएको, माटो उत्खननका कारण प्राचीन स्मारक तथा पुरातात्विक वस्तुहरू नष्ट हुने जोखिम रहेको, कृषियोग्य जमिनमा असर पारेको र विद्यालय नजिकै सञ्चालन भइरहेका कारण शैक्षिक वातावरणमा समेत क्षति पुगेको उल्लेख छ ।
पाँचखाल क्षेत्र किराँत र लिच्छवीकालदेखि धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिन्छ । तर, स्थानीयको अनुसार नगरपालिकाले अवैध इँटाभट्टा चलाउन सघाएको आरोप लगाइएको छ ।
हाल पाँचखालमा ८ वटा इँटाभट्टा सञ्चालनमा छन्, जसमध्ये कतिपय विद्यालयकै छेउमा सञ्चालन भइरहेका छन् ।