आगामी केही दिन हावाहुरी र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखालेहाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेकाले हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले देशका विभिन्न स्थानमा हिउँदेबाली भित्राउने समय भएकाले खासगरी कृषकहरुले वर्षात र हावाहुरीका कारण हुने क्षति रोक्न आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्रैे काम गर्न मौसमविदले सुझाव दिएका छन ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।
वैशाख ५ गते शुक्रबारको दिन कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।
मधेश, गण्डकी र लुम्बिनी प्रदेश भरी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।